काठमाडौं, २४ कात्तिक । गणेश हिमालको छायाँमा लुकेका धादिङका सुन्दर दृश्य र रुविभ्यालीको पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडियो ‘घुमौं रुविभ्याली’ आज सोमवार सार्वजनिक गरिएको छ।
हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट)ले आफ्नो पहिलो परियोजनाको रूपमा प्रस्तुत गरेको यो गीतले पर्वतीय संस्कृति, प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैलीलाई कलात्मक कथामा बाँधेको छ। ट्रस्टका अध्यक्ष तथा गीतका रचनाकार रामप्रसाद सापकोटाको परिकल्पना र निर्माणमा बनेको यस भिडियोले रुविभ्याली क्षेत्रको मोहकता दर्शकसमक्ष ल्याएको छ।
धादिङ निवासी सापकोटा स्वयं पर्यटन व्यवसायमा सक्रिय छन्। उनका अनुसार यो गीतले काठमाडौं नजिकैको यो आकर्षक ट्रेकिङ रुटलाई विश्वभर परिचित गराउने लक्ष्य राखेको छ। “रुविभ्याली ट्रेक गणेश हिमालको शिरदेखि नरसिंहधामको पाउसम्म फैलिएको अद्भुत भेग हो। यसलाई म्यूजिक भिडियोमार्फत प्रस्तुत गर्दा पर्यटन प्रवर्द्धनमा नयाँ उर्जा मिल्नेछ,” सापकोटाले बताए।

भिडियोको लोकार्पण समारोहमा बोल्दै साहित्यकार नवराज लम्सालले ‘घुमौं रुविभ्याली’ले धादिङको पहिचानलाई उज्यालोमा ल्याएको टिप्पणी गरे। “धादिङका धेरै विशेषता अझै छायामा छन्। यस्तो सिर्जनाले हाम्रो भौगोलिक, सांस्कृतिक र पर्यटन सम्पदालाई संसारसम्म पुर्याउँछ,” उनले भने। त्यस्तै सञ्चारकर्मी ऋषि धमलाले रुविभ्यालीले विश्वका पर्यटकलाई आकर्षित गर्ने गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे।
विवेक सापकोटाले निर्देशन गरेको उक्त भिडियो अल थ्री मिडिया घरले निर्माण गरेको हो भने सुधिर श्रेष्ठ र सगुन थापाको दमदार अभिनयले कथालाई जीवन्त बनाएको छ।
‘घुमौं रुविभ्याली’ म्यूजिक भिडियो अहिले ओएसआर डिजिटल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
https://www.youtube.com/watch?v=i2J2ONQWolU