काठमाडौँ, १४ बैसाख। मुलुककै जेठो र भरोसायोग्य मानिने सरकारी अस्पताल वीरमा उपचारका नाममा 'लुटतन्त्र' मच्चिएको पाइएको छ। आर्थिक रूपमा विपन्न नागरिकको अन्तिम सहारा मानिने वीर अस्पतालको आफ्नै फार्मेसीमा औषधि अभाव हुँदा बिरामीहरू निजी पसलमा महँगो मूल्य तिर्न बाध्य छन्।
अस्पतालको आफ्नै फार्मेसीमा अधिकांश अत्यावश्यक औषधि पाइँदैनन्। पाइने औषधिहरू पनि निजी फार्मेसीको तुलनामा महँगो पाइएको छ, विशेषगरी भारतीय ब्रान्डका औषधिहरूमा चर्को मूल्य असुलिएको बिरामीहरूको गुनासो छ।
अस्पतालमा औषधि किन्दै आएकी आयुषा कार्की भन्छिन्, "पहिले यहाँबाट औषधि किन्थेँ, तर बाहिरभन्दा यहाँ महँगो पर्दो रहेछ। औषधि नै बाहिरभन्दा महँगो पर्ने भएपछि सरकारी अस्पताल भन्नुको के अर्थ?"
यस विषयमा वीरका फार्मेसी इञ्चार्ज मानबहादुर महराले टेण्डर प्रक्रियाबाट औषधि खरिद गरिने हुँदा मूल्यमा फरक पर्नु नपर्ने दाबी गरे पनि बिरामीले पाइरहेको सास्ती र आर्थिक ठगीले सरकारी सेवामाथिको विश्वसनीयतामा प्रश्न उठाएको छ।