काठमाडौं, २३ साउन। बालेन्द्र शाह नेतृत्वको सरकार चार महिना नपुग्दै चौतर्फी आलोचनामा परिरहेका बेला सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट सरकारको कार्यशैलीप्रति असन्तुष्टि सार्वजनिक हुन थालेको छ। प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाकै सांसदहरूले नागरिकका समस्या र सरकार सञ्चालनको शैलीलाई लिएर गम्भीर प्रश्न उठाएका हुन्।
विशेषगरी रवि लामिछानेनिकट मानिने सांसदहरूबाट सरकारको कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त हुन थालेपछि प्रधानमन्त्री बालेनविरुद्ध पार्टीभित्रैबाट राजनीतिक घेराबन्दी सुरु भएको संकेत देखिएको छ। बैठकमा बोल्दै रास्वपाका सांसदहरूले सरकारले राज्य सञ्चालनमा अपेक्षित प्रभावकारिता देखाउन नसकेको तथा नागरिकले भोगिरहेका समस्या समाधान गर्न चुकेको आरोप लगाए। उनीहरूले सरकारलाई आफ्नो कार्यशैली सुधार गर्दै जनताका दैनिक समस्या समाधानमा केन्द्रित हुन आग्रह गरे।
रास्वपाका प्रभावशाली नेतासमेत मानिने सांसद मनिष झाले सरकारप्रति असन्तुष्टि मात्र व्यक्त गरेनन्, प्रधानमन्त्री बालेन्द्र शाहलाई राज्य सञ्चालनको शैली परिवर्तन गर्नसमेत सुझाव दिए। झाले राज्य सञ्चालन, लोकतन्त्र र संविधानको रक्षाका लागि राज्यप्रतिको भरोसा तथा राष्ट्रप्रतिको आत्मविश्वासलाई सरकारले मूलमन्त्र बनाउनुपर्नेमा जोड दिए। साथै, ‘सबै कुरा आफूलाई मात्र थाहा छ’ भन्ने सोचले राज्य सञ्चालनमा थप समस्या निम्त्याउन सक्ने भन्दै उनले सरकारलाई सचेत गराए।
सत्तारुढ दलकै सांसदहरूबाट सरकारको कार्यशैलीमाथि खुलेर प्रश्न उठ्न थालेसँगै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि राजनीतिक दबाब बढ्दै गएको देखिएको छ। रास्वपाभित्रैबाट उठेको यस्तो असन्तुष्टिले आगामी दिनमा सरकार र पार्टी नेतृत्वबीचको सम्बन्ध तथा राजनीतिक समीकरणबारे पनि नयाँ बहस सिर्जना गर्ने संकेत गरेको छ।