२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

प्रतिकूल मौसमका कारण चार दिनदेखि आन्तरिक उडान प्रभावित

प्रतिकूल मौसमका कारण चार दिनदेखि आन्तरिक उडान प्रभावित

गण्डकी टाइम्स
बिहिवार, चैत्र २६ २०७७
गण्डकी टाइम्स
बिहिवार, चैत्र २६ २०७७
  • काठमाडौं, २६ चैत । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही सङ्ख्यामा प्रभावित भएको जानकारी दिएका छन। विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान थोरै सङ्ख्यामा रद्द भएको छ ।

    यान्त्रिक पद्धति (आइएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको छ ।

    अघिल्लो एक साता मौसम खराबीले उडान रद्द भएको अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः गत चैत २३ गते मङ्गलबारदेखि उडान प्रभावित भएको हो ।

    काठमाडौँ उपत्यकासहित देशभरको आकाशमा बाक्लो धुवाँसहितको तुवाँलो लागेकाले भिजीबिलिटी कम हुँदा खासगरी आन्तरिक उडान प्रभावित बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार आन्तरिक उडानमा बुधबार विभिन्न एयरलाइन्सका जम्मा १ सय १२ उडानमध्ये ९५ मात्रै उडान भए । बाह्र उडान रद्द हुनका साथै पाँच उडान मर्ज गरिएको थियो ।

    यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी नौ हजार ८ सय२४ यात्रुले हवाईयात्रा गरेका छन् । बुद्ध एयरको सात, यती एयरलाइन्सको चार र सीता एयरको एक उडान रद्द भएको छ ।

    यस्तै गत मङ्गलबार आन्तरिकतर्फ १ सय १८ उडान निर्धारण गरिएकामा जम्मा ८८ उडान भए । २८ उडान रद्द भएका छन् ।

    बुद्ध एयरको १५, यती एयरलाइन्सको छ, समिट एयरको तीन, सौर्य एयरलाइन्सको दुई तथा तारा एयरको समान एक–एक उडान भएका छन् । सबै उडानमार्फत आठ हजार ६ सय ८७ यात्रु आवतजावत गरेका छन् ।

    अघिल्लो सोमबार सर्वाधिक ३० उडान रद्द भएका छन् । उक्त दिन जम्मा १ सय २२ उडान निर्धारण गरिएकामा ९१ मात्रै उडान भएको छ ।

    बुद्धएयरको १७, यती एयरलाइन्सको नौ, ताराएयरको दुई तथा श्री एयरलाइन्स र सीताएयरको समान एक–एक उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

    तीनदिन मौसम खराबी रहे पनि तुलनात्मकरूपमा आज काठमाडौँको आकाश केही मात्रामा खुलेको छ । बाक्लो तुवाँलो नभएपछि भिजीबिलिटी पनि राम्रो रहेको र नियमित उडान भइरहेको विमानस्थलका महाप्रबन्धक तिवारीले बताएका छन ।

    उनका अनुसार आज पोखरा विमानस्थलबाहेकका गन्तव्यमा उडान नियमित भइरहेको छ । पोखरामा विगत तीन दिनदेखि उडान हुन नसक्दा यात्रु मर्कामा परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij