काठमाडौं, ६ असोज । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार ४७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ११ हजार ६७ आरटी पिसिआर र २ हजार ८६३ एन्टिजेन गरी कुल १३ हजार ९३० जनामा परीक्षण गरिएकोमा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर २१ हजार १३९ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा, १ हजार ३३४ संस्थागत आइसोलेसनमा र २४३ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३३४ जना र भेन्टिलेटरमा ११९ जना उपचाररत छन् ।
मन्त्रालयकाअनुसार बुधबार देशभरबाट १ हजार ६३० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।