महालेखाले भन्यो : बैंकहरुले लुकाए साढे २१ अर्ब कर योग्य आय
महालेखाले भन्यो : बैंकहरुले लुकाए साढे २१ अर्ब कर योग्य आय
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ३० चैत । बैंक तथा वित्तीय संस्थाले नउठेको ब्याज वापतका करयोग्य आयबाट कर नतिरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले यसविषयमा छानविन गरी कर असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।
३९ वटा बैंक तथा वित्तीय संस्थाले कर योग्य रुपमा रहेको २१ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ आय विवरणमा नदेखाएको महालेखाले उल्लेख गरेको छ । उक्त आय बापत लाग्ने ६ अर्ब ४७ करोड ३५ लाख कर छानविन गरी असुल गर्न महालेखाले सरकारलाई निर्देशन दिएको हो ।
एनएफआरएस लागु भएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ब्याज आम्दानीलाई प्रोतभावी आधार (एक्रुअल बेसिस) मा लेखांकन गनुपर्ने व्यवस्था गरेको थियो । सोही अनुसार बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानीको लेखांकन तरिका परिवर्तन भएको थियो ।
त्यसपछि बैंकहरुले नउठेको ब्याज आम्दानीलाई आय देखाएर कर तिर्नुपर्नेमा बैंकहरुले कर नतिरेको भन्दै महालेखा परीक्षकको कार्यायले प्रश्न उठाएको हो ।
‘नगदमा आधारित रहेर ब्याज आम्दानीको लेखांकन गर्दा बैंक तथा वित्तीय संस्थाले पाकेको तर, असुल हुन बाँकी ब्याजलाई नेपाल राष्ट्र बैंकले तोकेको ढाँचा बमोजिम वासलातको अन्य सम्पति महल अन्तर्गत रही ब्याज मुल्तबी खातामा लेखांकन गर्ने गरेको देखिन्छ,’ महालेखा प्रतिवेदनमा भनिएको छ, ‘यस्तो खातामा रहेको रकम एक्रुअल बेसिसमा लेखा राख्दा आयकर ऐनको दफा २२(६) को व्यवस्था बमोजिम आयमा समावेश गर्नुपर्नेमा बैंक तथा तथा वित्तीय संस्थाले ब्याज मुल्तबी खातामा रहेको रकमलाई आयमा समावेश नगरेको तथा कम रकम समावेश गरेको पाइयो।’
१२ वाणिज्य बैंक, १४ विकास बैंक र १३ फाइनान्ससमेत ३९ करदाताले लेखा व्यवस्थानमा एनएफआरएस लागु गरेपछि मात्रै ब्याज मुल्तबी खातामा रहेको रकम भन्दा २१ अर्ब ५७ करोड ८५ लाख आय विवरणमा न्यून देखाएको महालेका परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।
उक्त रकमलाई आयमा समावेश गरी त्यसको ३० प्रतिशतले हुने ६ अर्ब ४७ करोड ३५ लाख कर असुलको लागि छानबिन गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको हो ।
प्रतिक्रिया