२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

ललितपुरमा छापिएका नक्कली नोट राजधानीका पसलमा छ्याप्छ्याप्ती

ललितपुरमा छापिएका नक्कली नोट राजधानीका पसलमा छ्याप्छ्याप्ती

गण्डकी टाइम्स
बिहिवार, बैशाख १४ २०८०
गण्डकी टाइम्स
बिहिवार, बैशाख १४ २०८०
  • ललितपुर, १५ बैशाख । जाली नोट दिएर सामान किन्दा नक्कली धन्दा गर्नेहरु समातिएका छन् । ललितपुरको गोदावरी नगरपालिका–१३, झरूवाराशीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहका अनुसार पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका–११ घर भई झरूवाराशी बस्ने ३६ वर्षीय जीवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका–१ का २१ वर्षीय भुपाल विक छन् । गत आइतबार किराना पसलमा सामान किन्न गएका जीवनले ५ किलो मैदा र दुई लिटर खाने तेल लिएपछि एक हजार रुपैयाँको नोट पसले दिनेश तिमल्सिनालाई दिएका थिए । तर, तिमल्सिनाले उक्त नोट जाली रहेको थाहा पाएपछि प्रहरीलाई तत्काल खबर गरे । त्यसपछि खटिएको डिएसपीसहितको टोलीले जीवनलाई पक्राउ गरेको जनाइएको छ । प्रहरीले जीवनको साथबाट एक हजार, पाँच सय र एक सय दरका एक–एक वटा जाली नोट बरामद गरेको जानकारी दिएको छ । उनीमाथि जाली मुद्रासम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिन म्याद थपेर अनुसन्धान हुँदा भुपालको पनि संलग्नता खुलेको हो । त्यसैले उनलाई आज गोदावरी–११ बज्रबाराहीबाट प्रहरीले पक्राउ गरेको हो । उनीबाट पनि पाँच सय र एक सय दरका एक एक वटा जाली नोट फेला परेको प्रहरीको भनाई छ । प्रहरीले भुपालको डेराबाट प्रिन्टरसहित थप एक हजार, पाँच सय र एक सय दरका नोट बनाउन फोटोकपी गरिएका कागजहरू पनि फेला पारेको छ । उनीमाथि पनि थप अनुसन्धान भइरहेको डिएसपी साहले बताए । उनीहरूले कहिलेदेखि यो काम गरिरहेका थिए भन्ने खुलिसकेको छैन । प्रहरीले नक्कली नोट बनाउँदै बजारमा पठाइएकाले थप नक्कली नोट सर्वसाधारणले अञ्जानमा प्रयोग गरिरहेको हुनसक्ने आशंका गरेको छ । केही दिनअघि प्रहरीले धनुषामा पनि ठूलो परिमाणमा नक्कली नोट फेला पारेको थियो । अस्ति ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साह प्रहरी हिरासतमा पुगेकी हुन् । उनको साथबाट एक हजार दरको नक्कली नोट ४ सय ९२ थान र ५ सय दरको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij