२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

एसिया कपः नेपालले आज भारतको सामना गर्दै

एसिया कपः नेपालले आज भारतको सामना गर्दै

गण्डकी टाइम्स
आइतवार, भाद्र १७ २०८०
गण्डकी टाइम्स
आइतवार, भाद्र १७ २०८०
  • काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेट अन्तर्गत नेपालले आज भारतसँग् प्रतिस्पर्धा गर्दैछ । पहिलो पटक एसिया कपमा सहभागी भएको नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खे्ल सुरु हुनेछ । आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा छ भने नेपाल १५औँ वरीयतामा छ । यसका अतिरिक्त भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । भारत दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन पनि हो । १६औं एसिया कपमा यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान पछिल्लो आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा रहेको छ । नेपाल र भारतबीचको खेलसँगै समूह ‘ए’ को सबै खेल सकिने छ । हाल समूह ‘ए’ तालिकामा दुई खेल खेलेको पाकिस्तान चार अंकसहित पहिलो स्थानमा छ । पाकिस्तान र भारतबीच शनिबार खेलिएको खेल भने वर्षाका कारण रद्द भएको थियो । तालिकामा एक अंकसहित भारत दोस्रो स्थानमा आसिन छ । तेस्रो स्थानमा रहेको नेपालले भने हालसम्म खाता खोल्न सकेको छैन । त्यसैले सोमबार हुने नेपाल र भारतबीचको खेल दुबै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ । पाकिस्तान यसअघि नै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । अब समूह ‘ए’ बाट नेपाल र भारतमध्ये एक टोलीमात्र ‘सुपर फोर’ चरणमा पुग्नेछ । प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई-दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ । यस्तो स्थितिमा सोमबारको खेलमा दुबै टोली ‘गर वा मर’ को स्थितिमा हुनेछन् । सामान्यतः उक्त खेलमा जुन टोली विजयी हुन्छ त्यो सहजै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्नेछ । तर, सोमबार हुने नेपाल र भारतबीचको खेल पनि वर्षाले विथोल्ने प्रबल सम्भावना देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij