भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली किन्ने
भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली किन्ने
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौ, ३ भदौ । भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएको हो । यसले कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा आयोजना) बाट ९४१ मेगावाट (२८ आयोजना) पुग्नेछ ।
यो २५१ मेगावाट स्वीकृत हुनुअघि नै गत आर्थिक वर्ष १६ अर्ब ९३ करोड रूपैयाँ बराबर विद्युत् बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ । सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा धेरै बढेको छ ।
प्रतिक्रिया