माओवादी केन्द्रभित्र प्रचण्ड–जनार्दन अन्तर्विरोध चुलिँदै, जनार्दनले मुख खोल्दै गराए गम्भीर ध्यानाकर्षण
माओवादी केन्द्रभित्र प्रचण्ड–जनार्दन अन्तर्विरोध चुलिँदै, जनार्दनले मुख खोल्दै गराए गम्भीर ध्यानाकर्षण
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, १२ साउन । नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा बीचको अन्तर्विरोध पछिल्लो समय सतहमा आउन थालेको छ। पार्टी नेतृत्व र नीतिगत निर्णयको विषयमा देखिएको असहमति सार्वजनिक रूपमा प्रकट हुन थालेको छ।
यही सन्दर्भमा उपमहासचिव शर्माले सोमबार सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै पार्टीबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेको टीका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले समग्र पक्षको अध्ययन नगरी आफ्नो अनुकूल व्याख्या मात्र नगर्न सबैमा आग्रह समेत गरेका छन्।
शर्माले लेखेका छन्, ‘हाम्रो पार्टीबारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा भइरहेको टीका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु।’
पछिल्लो समय अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि राख्दै आएका शर्माले नीति, कार्यक्रम, सरकार सञ्चालन तथा संगठन निर्माणका विषयमा फरक धारण राख्दै आएका छन्। उनका आलोचनात्मक अभिव्यक्तिहरू र समूहमै लामबद्ध भइरहेका केही नेताहरूको चासोले माओवादी केन्द्रभित्र गम्भीर बहसको स्थिति निर्माण भएको छ।
पार्टी भित्रै असहज परिस्थितिको संकेत गर्ने गरी सार्वजनिक भएका यस्ता सन्देशहरूबाट माओवादी केन्द्र आन्तरिक तनावमा रहेको आकलन गरिएको छ। पार्टीको भावी रणनीति र सांगठनिक पुनर्संरचनाको विषयमा प्रचण्ड र शर्माबीच मतभेद रहेको पार्टी स्रोतले जनाउँदै आएको छ।
यसबारे पार्टी नेतृत्वले खुलासा गर्न चाहेको छैन भने जनार्दन शर्माले भने परोक्ष रूपमा असन्तुष्टि जनाउने शैली अपनाएका छन्। विश्लेषकहरूका अनुसार यदि यो अन्तर्विरोध चाँडै समाधान नभए माओवादी केन्द्रभित्र गम्भीर दुर्घटनाको संकेत देखिने दावी गरेका छन् ।
प्रतिक्रिया