संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले संघर्षलाई कठिन बनायो : प्रचण्ड
संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले संघर्षलाई कठिन बनायो : प्रचण्ड
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले आफूहरुको संघर्षलाई कठिन बनाएको बताएका छन्।
शुक्रबार काठमाडौंमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्।
‘यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो। संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ,’ उनले भने।
अध्यक्ष प्रचण्डले ७५३ वटै पालिकामा जनताको संघर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। प्रत्येक पालिका र वडास्तरसम्मै भएका त्याग, तपस्या र बलिदानका ऐतिहासिक गाथा संकलन गरेर एउटा ठूलो राष्ट्रिय कृतिमा परिणत गर्न सकिने बताए।
उनले जनयुद्धलाई साहित्य, दर्शन र संस्कृतिको दृष्टिमा समेत मौलिक सौन्दर्य र ऐतिहासिक योगदान भएको भन्दै यसलाई विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया