भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे मधेसका मुख्यमन्त्री यादवको खुलासा
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे मधेसका मुख्यमन्त्री यादवको खुलासा
गण्डकी टाइम्स
गण्डकी टाइम्स
जनकपुर, २९ कात्तिक। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भारतीय दूतावासका प्रतिनिधिहरूले दलहरूलाई धम्क्याउने गरेको आरोप लगाएका छन्। शनिबार प्रदेशवासीको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले वीरगन्जमा रहेको भारतीय दूतावासको काउन्सलर कार्यालयबाट दलहरूलाई धम्की आउने गरेको आरोप लगाएका हुन् । यादवले मधेसमा राजनीतिक अस्थिरताको कारण भारतीय दूतावासबाट आउने धम्की रहेको खुलासा गरे।
मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा चुनौती रहेको र सीमित कार्यक्रममा सहभागी हुन सुरक्षा निकायले भनेको समेत बताए । उनले भने– ‘वीरगन्जमा रहेको काउन्सलर अफिसका प्रतिनिधिहरूले दलका नेताहरूसँग प्रत्यक्ष संवाद नगरी दलका नेताहरूलाई धम्क्याउने, दल फुटाई दिन्छु भन्ने जस्ता धम्की दिने गरेका छन् ।’
‘मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्यो । सीमित कार्यक्रमहरू राख्नुपर्यो । सुरक्षा चुनौती छ । संवेदनशील भइदिनुपर्यो भन्ने कुरा सुरक्षा निकायबाटै आएको छ’ उनले भने । मुख्यमन्त्री यादवले आफू मात्र नभई सरकारमा सहभागी मन्त्री, प्रदेशसभा सदस्यहरूमाथि समेत सुरक्षा थ्रेट रहेको बताए ।
प्रदेशवासीलाई सम्बोधन गर्दै उनले मधेसको सच्चा दल नेकपा एमाले रहेको दाबी समेत गरे ।
प्रतिक्रिया