काठमाडौँ, ९ जेठ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पछिल्लो समय आन्तरिक असन्तुष्टि बढिरहेको संकेत देखिएको छ। यही पृष्ठभूमिमा शुक्रबार सिंहदरबारस्थित दलको कार्यालयमा कोसी र मधेस प्रदेशका सांसदसँग छुट्टाछुट्टै छलफल गर्दै सभापति लामिछानेले सांसदहरूलाई स्पष्ट सन्देश दिदै भने “गुटबन्दी होइन, समस्या सिधै नेतृत्वसमक्ष ल्याउनुस्।”
दलभित्र असन्तुस्टी बढ्न थालेपछि लामिछाने स्वयं संवादमा सक्रिय हुन् थालेका हुन्। पार्टीभित्रको असन्तुष्टि बाहिर फैलिनुअघि नियन्त्रण गर्ने रणनीतिअन्तर्गत उनले सांसदहरूसँग प्रत्यक्ष छलफल थालेको रास्वपाका श्रोतले गण्डकी टाइम्ससंग बतायो।
केही सांसदले निर्णय प्रक्रियामा आफूहरूलाई पर्याप्त सहभागी नगरिएको, संगठन सञ्चालनमा सीमित घेराको प्रभाव बढेको तथा प्रदेश तहका मुद्दा बेवास्ता भएको गुनासो सभापति लामिछाने समक्ष राखेको चर्चा छ।
छोटो समयमै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति बनाएको रास्वपाले आफूलाई “पुराना दलभन्दा फरक” शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ। तर अहिले देखिएको आन्तरिक असन्तुष्टि र गुटबन्दीको संकेतले पार्टीभित्र व्यवस्थापन चुनौती बढ्दै गएको देखिन्छ। विशेषगरी सरकार र सांसदहरुबीच समन्वय कमजोर बन्दै गएको अवस्थामा लामिछानेको प्रत्यक्ष संवादलाई क्षति नियन्त्रणको प्रयासका रूपमा पनि हेरिएको छ।