२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

सर्वदलीय बैठकः भोटेकोशी बाढी सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउन सहमति

सर्वदलीय बैठकः भोटेकोशी बाढी सामना गर्न केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउन सहमति

गण्डकी टाइम्स
मंगलवार, भाद्र १६ २०८३
गण्डकी टाइम्स
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ, १६ भदौ। भोटेकोशी बाढीबाट उत्पन्न विपद्को सामना गर्न केन्द्रमा गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको ढाँचामा बागमती प्रदेशदेखि बाढी प्रभावित जिल्ला र स्थानीय तहसम्म सर्वदलीय संयन्त्र गठन गरेर अघि बढ्ने सहमति भएको छ ।

    भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल गर्न सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा आज बसेको सर्वदलीय बैठकले सरकारका तीनै तहले गरिरहेका कामलाई सहयोग र समन्वय गर्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा सर्वदलीय संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले केन्द्रमा रास्वपा सभापति रवि लामिछानेको अग्रसरतामा गठन गरिएको उच्चस्तरीय संयन्त्रजस्तै बागमती प्रदेश तथा बाढी प्रभावित जिल्ला र स्थानीय तहमा पनि सर्वदलीय बैठक र संयन्त्र गठन गरेर विपद्को सामना गर्ने सहमति भएको जानकारी दिनुभयो ।

    उहाँले बैठकमा सहभागी सबै राजनीतिक दल यस विषयमा सहमत भएको उल्लेख गर्दै अब प्रभावित जिल्लाका स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर काम गर्न केन्द्रीय तहबाट सहमति जुटेको बताउनुभयो । उहाँकाअनुसार केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म बन्ने यस्ता संयन्त्रले उद्देश्य सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सरकारी संरचनाले गरिरहेका उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका कामलाई सहयोग गर्नेछ ।

    रास्वपा प्रवक्ता खरेलले विपद् व्यवस्थापनलाई खोजी, उद्धार र राहतमा मात्र सीमित नराखी पुनःस्थापना, पुनःनिर्माण तथा दीर्घकालीन विपद् जोखिम न्यूनीकरणसम्म लैजान उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यक औँल्याउनुभयो ।

    राजनीतिक सहमति, तीनै तहका सरकारबीच समन्वय र प्रभावित समुदायसँग राष्ट्रिय एकता कायम गर्न पनि यस्तो संयन्त्र दीर्घकालीन रूपमा आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले पहिलो सर्वदलीय बैठकले गरेका १० वटा निर्णयको कार्यप्रगतिको पनि दोस्रो बैठकमा समीक्षा गरिएको जानकारी दिनुभयो । राजनीतिक दलले खोजी, उद्धार र राहतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै भएका प्रयासप्रति धन्यवाद व्यक्त गरेको र आगामी कामका लागि थप सुझावसमेत दिएको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij