साझालाई मास्क : विरालाेलाई दूध !
साझालाई मास्क : विरालाेलाई दूध !
गण्डकी टाइम्स
गण्डकी टाइम्स
सूर्य सुवेदी
काठमाडौँ । नेपाल प्रहरीले कालोबजारीबाट बरामद गरेको करिब १० लाख पिस सर्जिकल मास्क नेपाल सरकारले साझा स्वास्थ्यबाट वितरण गर्न लागेको खवरले आम मान्छे खुसी छैनन् । सरकारी स्वामित्वमा रहेको साझाबाट मास्क बिक्री गर्न दिदा त्यहाँबाट पनि मास्ककाे कालो बजारी हुने हाे कि भन्ने आम मानिसको चासो र चिन्ता रहेको छ।
पछिल्लो समय साझामा काम गर्ने हाकिम र कर्मचारीकाे कमिसन खेलका कारण साझा स्वास्थ्य अत्यन्तै विवादमा आएकाे छ । साझाले मास्क बेच्दा के कस्तो बिधि अपनाउने हाे भन्ने कुराकाे केहि जानकारी छैन। साझाको चरित्र हाल साझा खालको नभएकाले साझालाई मास्क बिक्री वितरण गर्नदिदा कुनै मापदण्ड नदिनु एउटा कालाबजारीबाट अर्काे कालाेवजारीको हातमा मास्क पुग्ने त हाेइन भन्ने आम नागरिकको चासो स्वभाविक छ।
आम मानिसको बुझाइमा साझा पहिलाको जस्तो साझा छैन। साझालाई काम दिनु पहिला हालको साझा कस्तो छ, त्यसको जानकारी हुन नितान्त जरुरी छ। २०३१ साल श्रावण १ गते विसुद्ध समाज सेवाकाे उदेश्य लिएर नेपाल सरकारले स्थापना गरेकाे याे संस्था सुरुका दिनमा निक्कै भरपर्दो संस्था थियो । आम मानिसहरु अस्पतालमा डाक्टरले दबाई लेखिदिए पछि साझाको औषधि पसल कहाँ छ भनेर खाेज्दै साझामा पुग्थे । अनेत्र नपाउने दबाई पनि साझा स्वास्थ्यमा पाइन्थ्याे । अझ सुपथ मुल्यमा। नाम चलेका ठुला अस्पतालका प्राङ्गणमा साझाकै पसल हुन्थ्यो । अझ वीर अस्पताल अगाडिको पसलकाे त कुरै छाडौ । मानौ साझाको शान र आम मानिसको साझाप्रतिको विश्वास अचम्मैको थियो ।
अझ भनौ साझा भनेकै बिश्वासकाे केन्द्र थियो । नेपाल अधिराज्यभर अझ ठुला-ठुला अस्पताल काउन्टरहरुमा सरकारी स्वामित्व भएको साझाको दबाई पसल हुदा आम नागरिकलाई मात्रै हाेइनकी सरकारलाई पनि राम्रो फाइदा हुन्थ्यो । काठमाडौका धेरै जसाे अस्पताल, बुटवल, भैरहवा, नेपालञ्ज, धनगढी, सुर्खेत, पाल्पा, भरतपुर, हेटौंडा, जनकपु, धरान, बिराटनगर, झापा लगायत धेरै जसाे माेफसलका जिल्लामा पनि साझाका औषधि पसलहरु थिए । तर हाल सात प्रदेशका ३१ ठाउँमा मात्रै साझा स्वास्थ्यका बिक्री केन्द्रहरु छन्। महत्त्वपूर्ण ठाउका बिक्री केन्द्रहरु बन्द भैसकेका छन्।
हाल साझाले आफ्नो गर्विलो शाख पुरै सखाप पारिसकेको छ । हाल नागरिककाे साेचाइमा साझा भनेको सरकारबाट कमिसनका लागि बैधानिकता प्राप्त गरेको संस्थाको मात्रै हाे। साझा स्वास्थ्यमा कसरी हन्छ कमिसनको खेल ? आम नागरिक मात्रै हाेइन सर्जिकल तथा मेडिसिन सप्लायर्सहरु पनि साझा स्वास्थ्यसँग दिक्क भैसकेका छन्। सझाका प्रत्येक बिक्री केन्द्रका हाकिम र एकाउन्टेन्टलाई कमिसन नखुवाई कुनै पनि सर्जिकल वा मेडिसिन सप्लायर्सकाे कामनै हुदैन ।
कुनै पनि १०० रुपैया मुल्य भएको सामान साझामा विल गर्दा अतिरिक्त १२.५ प्रतिशत अतिरिक्त मुल्य जाेडेर ११२.५ मा बिल गर्नुपर्ने हुन्छ । सरकारलाई झुक्याउनकाे लागि र साझाको नाममा छुट देखाउनकाे लागि बढाइएको १२.५ प्रतिशत बाट ७.५ प्रतिशत बिलमा छुट देखाइन्छ।त्याहाका कर्मचारीले सुरुमै १०० रुपैयाँबाट पनि ५ प्रतिशत बार्गेनिङ मिलाई सकेका हुन्छन् । यतिबेला उनिहरुले आफ्नो कमिशन १० प्रतिशत बनाई सकेका छन् । यति मात्रै हाेइन साझाका कर्मचारीले सप्लायर्सलाई भुक्तानी दिने बेला पनि ५ प्रतिशत कमिसन माग्छन् । कमिसन नदिए भुक्तानी ढिलो गरिदिने र अर्को पटकदेखि कामनै नदिनेसम्मको कार्य गर्दछन।
साझाको कमिसनको अबस्था देखेर सप्लायर्सहरुले पनि सुरुमै सामानको भाउ अझै बढाउछन् । आफ्नो मनलाग्दाे रेट बनाउछन् । अझ साझामा कमिसनको खेलले गर्दा गुणस्तरीय सामानहरुनै सप्लाई नै हुदैन । धेरै नाफा हुने र कमसल सामान मात्रै साझामा सप्लाई हुन्छ। साझा कर्मचारीलाई पनि गुणस्तर भन्दा कमिसन नै राम्रो लाग्छ ।
साझामा कति कमिसनको खेल हुन्छ भन्ने पत्तो लगाउन धेरै मेहनेत गर्नुपर्दैन । साझामा काम गर्ने एक दुई हाकिम र एक दुई एकाउन्टेन्टकाे जीवनशैली तडकभडक हेर्दै थाहा हुन्छ।
वरामद मास्कलाई के गर्दा उत्तम हुन्छ त ?
नेपाल प्रहरीले बरामद गरेको सर्जिकल मास्क फेरि जनताले अबिश्वास गरेको सस्थालाई दिनुहुदैन । साझा स्वास्थ्य सेवा, सेवा दिने कुरामा असफल भएको संस्था हाे। हाल आम मानिसले महङ्गोमा किन्छु भन्दा पनि मास्क पाएका छैनन् । खास गरि एसइइ दिने कलिला बालबच्चा काेराेनाका कारण त्रसित छ । उनका अभिभावक आफ्नो बच्चाको लागि मास्क दिन सक्ने अबस्थामा छैनन् । धेरै जसाे देशहरूमा काेराेनाका कारण मास्क, ह्याण्ड स्यानिटाइजर जस्ता समाग्री सरकारले बाडेकाे देखिन्छ । अघिपछि नदिए पनि कम्तीमा बरामद मास्क एसइइ दिने केटाकेटी र बृद्धआश्रममा रहेका जेष्ठ नागरिकलाई प्रत्यक्ष सराेकारवालाकाे निगरानीमा बाडिदिने हाे भने त्याे भन्दा पुण्य केही हुने छैन ।
प्रतिक्रिया