सुरेश वाग्ले (वासु)
यसरी यस क्षेत्रमा कम्युनिस्ट पार्टीको नेतृत्व गरेकै कारणले तत्कालीन पञ्चायती ब्यवस्थाले क. सुरेश वाग्लेलाई अस्थायी शिक्षकको रुपमा रहन बाध्य पारिरह्यो, स्थायी हुनै दिएन । आफ्नो घरायसी र व्यक्तिगत समस्यालाई उहाँ शिक्षक संगठन र कम्युनिस्ट पार्टीको समस्याको तुलनामा जहिले पनि गौण ठान्नुहुन्थ्यो । पार्टी र संगठनको समस्यालाई प्रधान समस्याको रुपमा लिनुहुन्थ्यो । २०४१ सालमा गोरखा जिल्लाका तत्कालीन पञ्चायती ब्यवस्थाका दूतहरुले उहाँलाई “नेपाल राष्ट्रिय शिक्षक संगठनबाट राजीनामा दिए मा.वि. स्थायी शिक्षक बनाइदिन्छौं, बरु स्थायी भएपछि तपाईं पुनः `नेपाल राष्ट्रिय शिक्षक संगठन´को जिम्मेवार सदस्य भएपनि त्यसमा हामीलाई कुनै मतलब छैन र तपाईंले राजीनामा दिएको कुरा पनि गोप्य राख्छौं” भन्दा पनि क. सुरेश वाग्ले `नेपाल राष्ट्रिय शिक्षक संगठन´मा रहेर "अस्थायी नै बस्नु परे पनि ठीक छ, म आफ्नो नैतिकतालाई धरौटी राखेर स्थायी शिक्षक बन्ने मेरो नैतिकताले दिंदैन"भनि पञ्चायती ब्यवस्थाका दुतहरुको प्रस्तावलाई सिधै अस्विकार गर्नुभएको थियो । कठोर साधना र तपस्यापछि २०४६ र ४७ को आन्दोलनपछि उहाँ स्थायी शिक्षक बन्न पुग्नुभयो ।१७ वर्षसम्म शिक्षण पेशामा अविच्छिन्न सेवा गरेका क. सुरेश वाग्लेलाई पञ्चायती शासकहरुले त्यसबेलासम्म स्थायी हुन दिएका थिएनन् । उल्टै उहाँले `उग्रवादी´ को बिल्ला भिर्नुपरेको थियो । `उग्रवादी´ आरोपकै कारण वि. सं. २०३६ सालमा पुलिसको गिरफ्तारीमा समेत पर्नु भयो।गिरफ्तारीमा परेकै कारण उहाँ स्थायी हुन पाउनुभएको थिएन । २०४७ सालको प्रतिनिधि सभाको चुनावमा नेकपा (एकता केन्द्र)ले चुनाव उपयोग गर्ने उद्देश्यले डा. बाबुराम भट्टराईको संयोजकत्वमा बनाएको पार्टीको वैधानिक मोर्चा `संयुक्त जनमोर्चा, नेपाल´को तर्फबाट उहाँलाई गोरखा क्षेत्र नं. २ को उम्मेदवारमा छनौट गर्यो । चुनावी कलाको अभावमा उहाँ सो चुनावमा १३,६७८ मत ल्याएर पनि झिनोमतले तत्कालीन नेपाली काँग्रेसकी उम्मेदवार मैयादेवी श्रेष्ठबाट पराजित हुनुपर्यो । चुनावमा पराजित भएपछि उहाँ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र)को पूर्णकालीन कार्यकर्ता बन्न पुग्नुभयो। त्यसै वर्ष उहाँ जिल्ला पार्टी सचिवमा चुनिनुभयो ।२०४८ सालबाट २०५२ सालसम्म क. वाग्ले नेकपा (एकता केन्द्र) गोरखाको जिल्लाको नेतृत्व तहमा हुनुहुन्थ्यो । मार्क्सवादको गहिरो अध्ययनले उहाँको उचाई धेरै माथि पुगिसकेको थियो । मार्क्सवाद- लेनिनवाद-माओवाद प्रति पूर्ण आस्था र विश्वास गर्दै यसलाई नै आफ्नो पथप्रदर्शक सिद्धान्तको रुपमा मान्दै नेकपा (माओवादी)को कार्यदिशा अनुकूल `नयाँ जनवादी क्रान्ति´ सम्पन्न गरी समाजवाद र साम्यवादको ध्येय र उद्देश्य हासिल गर्नका लागि आफ्नो महान् जिम्मेवारी पूरा गर्न उहाँ २०५२ साल फागुन १ गतेबाट नेकपा (माओवादी)ले थालेको `महान जनयुद्ध´मा सरिक हुन केहि समय पहिलेबाट नै भूमिगत हुनुभएको थियो । रोल्पा, रुकुम,गोरखा,सिन्धुली लगायतका जिल्लाबाट सुरु भएको `जनयुद्ध´को झिल्कोलाई देशव्यापी विस्तार गर्दै पार्टीको महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने, `प्रतिक्रियावादी राजतन्त्रात्मक संसदीय ब्यवस्था´लाई ध्वंस गर्दै `नयाँ जनवादी ब्यवस्था स्थापना´ गर्न नेपाली भुमिमा विकास भएको `जनयुद्ध´को योजनाकारहरु मध्य उहाँ पनि एक हुनुहुन्थ्यो।उहाँलाई त्यसै क्षमताको कारणले नै २०५५ मा नेकपा (माओवादी)ले पोलिट्व्युरोको बैकल्पिक सदस्य बनाएको थियो । २०५६ भदौमा पार्टीको केन्द्रीय समितिकोको पूर्ण बैठकपछि पार्टीकै कामको सिलसिलामा जनसेनाको प्लाटुन कमाण्डर तथा पार्टीको जिल्ला सदस्य क.भीमसेन पोखरेल (जो यो वर्ष निकै चर्चामा रहनु भएकि क. उमा भुजेलको श्रीमान् हुनुहुन्थ्यो) र एक महिला प्लाटुन सदस्य क.चिजा गर्तौला(सरु)सँग गोरखाको गाँखुमा भाद्र २३ गते छोप्राक मैदानबाट गस्तीमा गएका नेपाल प्रहरीको स्पेशल कमाण्डो फोर्ससँग जम्काभेट भयो । त्यसपछि घेरा तोड्न खोज्दा उहाँसँगै रहनुभएका प्लाटुन कमाण्डर क.भीमसेन पोखरेलको गोली लागेर मृत्युभयो । प्लाटुन सदस्य क.सरु चाहिँ घेरा तोड्न सफल हुनुभयो । क.भीमसेन पोखरेलको हत्या गरिसकेपछि प्रहरीले क.सुरेश वाग्लेलाई केहि समय कब्जामा राख्यो ।त्यसपछि उहाँलाई आत्मसमर्पण गर्न भनिएको थियो तर त्यो कुरा उहाँले नमानेपछि त्यहीँ गोली हानी प्रहरीले हत्या गरेको थियो । यसरी उहाँको महान जनयुद्धमा शहादत हुन पुगेको थियो।आज भाद्र २३ उहाँहरुको २१ औं `स्मृति दिवश´ हो। यस `स्मृति दिवस´मा उहाँहरुप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। (लेखक नेकपा क्रान्तिकारीका केन्द्रिय सदस्य हुन् )