२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गयो : प्रचण्ड

माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गयो : प्रचण्ड

गण्डकी टाइम्स
बिहिवार, चैत्र ६ २०८१
गण्डकी टाइम्स
बिहिवार, चैत्र ६ २०८१
  • काठमाडौं, ८ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताउनुभएको छ । जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको छ । विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरुले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको बताउनुभयो । गत मंसिरको उपनिर्वाचनहुँदै भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको र कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने बिरोधीहरुको भाष्य खारेज भएको बताउनुभयो । ‘गत उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरुले आपसमा चुनाव चिन्ह साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौं’उहाँले भन्नुभयो, ‘अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरु मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ, कयौं ठूला क्याम्पसमा तिसौं वर्षदेखिका रेकर्ड तोडिएका छन् । युवा विद्यार्थीहरु अब प्रतिगमन र यथास्थितिको पक्षमा नभई अग्रगमन र परिवर्तनको पक्षमा छन् भन्ने स्ववियु निर्वाचनले स्पष्ट सन्देश दिएको छ ।’ अध्यक्ष प्रचण्डले सरकारका गलत क्रियाकलापको फाइदा उठाएर प्रतिगामी शक्तिहरुले टाउको उठाउने दुस्साहस गरेको टिप्पणी गर्दै जनताको अधिकारको रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिका विरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको बताउनुभयो । उहाँले पार्टीलेले अघि बढाएको तराई मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाएको बताउनुभयो । यो अभियानले तराई मधेशमा बस्ने जनताको पहिचान, आत्मसम्मान र अधिकारलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै उहाँले माओवादी र मधेशी जनताको बीचमा गहिरो सम्बन्ध स्थापित हुने बताउनुभयो । अभियानका क्रममा यस क्षेत्रका जनताका समस्याको गहिरो अध्ययन गरी समाधानका लागि पहल गर्ने पनि उहाँले बताउनुभयो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij