भोटिङ मेसिन नल्याएपछि कांग्रेसको पार्टी कार्यालयमा नाराबाजी
भोटिङ मेसिन नल्याएपछि कांग्रेसको पार्टी कार्यालयमा नाराबाजी
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ९ चैत्र । नेपाली कांग्रेसनिकट राष्ट्रिय लोकतान्त्रिक अपांग संघको निर्वाचन भोटिङ मेसिन नल्याइएपछि प्रभावित भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी महाधिवेशनअन्तर्गत आज मतदानको कार्यक्रम भए पनि भोटिङ मेसिनको व्यवस्था नगरिएकाले असन्तुष्ट पक्षले नाराबाजी गरेको हो।
मतदान प्रक्रियामा पारदर्शिता आवश्यक रहेको भन्दै प्रतिनिधिहरूले पटक–पटक भोटिङ मेसिनको माग गरेका थिए। तर, माग सम्बोधन नभएपछि उनीहरूले निर्देशक समितिका संयोजक मधु आचार्यविरुद्ध नाराबाजी गरेका छन्। एक असन्तुष्ट प्रतिनिधिले भने, “भोटिङ मेसिन आवश्यक छ भनेर बारम्बार भनिरहेका छौं। तर, मतदानमा जालझेल गर्न खोजिएको छ।”
निर्वाचनमा अध्यक्ष पदका लागि विकास थापा र माधव चम्लागाई प्रतिस्पर्धामा छन्। समयमा निर्वाचन प्रक्रिया अघि नबढ्दा केही मतदाता फर्किसकेको जनाइएको छ। असन्तुष्ट पक्षले भोटिङ मेसिन बिना निर्वाचन नस्वीकार्ने चेतावनी समेत दिएका छन्।
यो संघको पहिलो महाधिवेशन हो। कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीलाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाउँदै आएका छन्। तर, कांग्रेसनिकट संघकै निर्वाचनमा प्रविधिको अभावका कारण नाराबाजी र असन्तुष्टि जनाउनुपर्ने अवस्था आउनु दुःखद् रहेको प्रतिनिधिहरूले गुनासो गरेका छन्।
प्रतिक्रिया