गगनको डरलाग्दो खुलासा: `प्रधानमन्त्रीको शयनकक्षसम्मै बिचौलियाको पहुँच´
गगनको डरलाग्दो खुलासा: `प्रधानमन्त्रीको शयनकक्षसम्मै बिचौलियाको पहुँच´
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको वर्तमान आर्थिक संकटको मुख्य कारण बिचौलिया प्रवृत्ति भएको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले बिचौलियाहरूको प्रभाव सरकारको नेतृत्व तहसम्म पुगिसकेको गम्भीर संकेत गरे।
उनले स्पष्ट रूपमा भने, “हाम्रो अर्थतन्त्रमा अहिले देखिएको समस्याको जरो नै बिचौलियाहरू हुन्। प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच पुग्नु भनेको अत्यन्तै चिन्ताजनक अवस्था हो। यो अहिले मात्र होइन, नेतृत्व तहको गम्भीर दुर्बलता हो।”
थापाले निजी क्षेत्र र बिचौलियाबीच स्पष्ट भिन्नता रहेको पनि औँल्याए। “बिचौलिया र निजी क्षेत्र एउटै होइनन्। निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हुन सक्छ, तर बिचौलिया त्यसलाई सोस्ने परजीवी हुन्,” उनले जोड दिए।
राष्ट्र बैंकको गभर्नर चयन प्रक्रियामा समेत बिचौलियाको संलग्नता बढेको उदाहरण दिँदै उनले अचम्म प्रकट गरे। “पहिले गभर्नर कसले बनाउने भनेर अड्कलबाजी हुन्थ्यो। अहिले त ‘बिचौलियाको मान्छे हो’ भनेर खुलमखुला बहस हुन थालेको छ। हामी कहाँ आइपुग्यौँ?” उनले प्रश्न गरे।
थापाले सत्तामा रहेका नेताहरूले आफ्ना आसेपासेलाई पोस्ने व्यवस्थालाई पुँजीवाद नभई विकृति भने। नागरिक बलियो नबनाईकन राज्य मजबुत हुन नसक्ने तर्क गर्दै उनले प्रणाली सुधारको खाँचोमा जोड दिए।
प्रतिक्रिया