‘भिजिट भिसा’ प्रकरणबारे दुई–चार दिनमा म आफैँ बोल्छु : गृहमन्त्री लेखक
‘भिजिट भिसा’ प्रकरणबारे दुई–चार दिनमा म आफैँ बोल्छु : गृहमन्त्री लेखक
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १० जेठ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिट भिसा’ वितरणमा देखिएको अनियमिततासम्बन्धी प्रकरणले तातिएको बेला गृहमन्त्री रमेश लेखकले आफू र मन्त्रालयको धारणा चाँडै सार्वजनिक गरिने बताएका छन्।
शनिबार नेपाली कांग्रेस धनुषा जिल्ला कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले सामाजिक सञ्जालमा भइरहेको चर्चा र आरोपहरूको विषयमा गृह मन्त्रालयले छिट्टै विज्ञप्ति जारी गर्ने जानकारी गराए।
“ट्वीटरमा जे–जे लेखिएको छ, ती सबैबारे म चुप लागेर बुझिरहेको थिएँ। अहिले धेरै कुरा मेरो थाहा भइसकेको छ,” उनले भने, “आजको कार्यक्रमपछि मन्त्रालयको तर्फबाट आधिकारिक विज्ञप्ति आउँछ, दुई–चार दिनपछि म पनि प्रत्यक्ष रूपमा केही कुरा राख्नेछु।”
गृहमन्त्री लेखकले प्रकरणले सार्वजनिक चासो पाएको बेलामा आफूले पार्टीको इज्जत घटाउने खालको कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरे। “मैले राजनीति गर्दा कहिल्यै पार्टीको मन सानो हुने, टाउको निहुरिने काम गरेको छैन,” उनले जोड दिए, “जुन दिन मेरो हातबाट त्यस्तो काम हुन्छ, त्यस दिनदेखि म राजनीतिमा रहने छैन।”
उनको भनाइमा, ‘भिजिट भिसा’ प्रकरणमा अनावश्यक रूपमा हल्ला फैलिएको छ, तर यसको समाधान गम्भीर ढंगबाट खोजिँदैछ र चाँडै सुस्पष्ट तथ्यसहित सरकारको धारणा आउनेछ। गृहमन्त्रालय मातहतको अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकको नाम पनि यस प्रकरणमा जोडिएको हो।
प्रतिक्रिया